काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ ।
गत शुक्रबार रिलिज भएको यो सिनेमाले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् ।
‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि अघिल्ला सिरिजहरूकै कलेक्सनलाई निरन्तरता दिएको छ ।
चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायतको अभिनय छ ।
रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी छ ।
सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ ।
चलचित्रको कथा पनि निर्देशक रामबाबु गुरुङले नै लेखेका छन् ।









