सुर्खेत। पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन्।
नवौँ राष्ट्रिय खेलकुद पोखरामा सम्पन्न भएपछि दशौँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो। निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो हुन लागेको प्रतियोगिताका लागि प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ।
प्रतियोगिताका उद्घाटन र समापन समारोह वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको १० हजार दर्शक क्षमताको रंगशालामा आयोजना हुनेछन्। प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालालाई राष्ट्रिय खेलकुदका विभिन्न प्रतियोगिता सञ्चालनका लागि महत्त्वपूर्ण पूर्वाधार मानिएको छ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। कुल ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ।
लामो समयदेखि प्रतीक्षामा रहेको प्रतियोगिता नजिकिँदै जाँदा कर्णालीमा खेलकुदको माहोल बढेको छ। पटक–पटक मिति सरेको इतिहासका कारण यसपटक निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्नु आयोजकका लागि मुख्य चुनौती बनेको छ।











