काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण व्यक्तिगत तथा धार्मिक उद्देश्यले रहेकाले यसलाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन्।
शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै कैलालीको धनगढी पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भ्रमणलाई लिएर राजनीतिक अर्थ नलगाउन आग्रह गरेका हुन्।
‘व्यक्तिगत भ्रमणमा छु। पहिल्यैदेखि जाने भाकल पनि थियो। धार्मिक आस्था र विश्वास छ, मेरो परिवार पनि आध्यात्मिक भएकाले पहिलेदेखि जाउँला भन्ने थियो,’ उनले भने, ‘म कारागारमा हुँदा नै गरेको भाकल पूरा गर्न जान लागेको हुँ। राजनीतिक भेटघाट केही छैन। व्यक्तिगत भ्रमण भएकाले कसैले खिचडी नपकाउन आग्रह गर्छु।’
लामिछानेले आफू कारागारमा रहँदा भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम जाने भाकल गरेको र अहिले त्यसलाई पूरा गर्न जान लागेको बताएका हुन्।
पत्नी निकितासहित धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरतर्फ जाने कार्यक्रम छ। उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत प्रवेश गर्नेछन्।
तीनदिने भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।










