काठमाडौँ । बडादसैँको विजया दशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तकहाँ जाने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढेको छ।
फूलपाती, महाअष्टमी र महानवमीको तुलनामा टीकाको शुभसाइतपछि सडकमा सवारीसाधनको सङ्ख्या बढेको हो। सार्वजनिक यातायातमा समेत यात्रुको चाप बढ्न थालेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडक तथा उपत्यका प्रवेश गर्ने नाकामा सवारीसाधन सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
टीकाका दिन आफन्तकहाँ आउने–जाने मानिसको सङ्ख्या बढ्दा अघिल्ला दुई–तीन दिनको तुलनामा सडकमा सवारी चाप बढी देखिएको उनले बताए।
ट्राफिक व्यवस्थापन सहज बनाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले सम्भावित जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै सवारी नियम पालना गराउन नियमित जाँच गरिरहेको जनाएको छ।
दसैँ मनाउन गाउँघर गएका सर्वसाधारण काठमाडौँ फर्कने क्रम पनि सुरु भएको छ। यससँगै यात्रु सुरक्षाका लागि सवारीसाधनको यान्त्रिक अवस्था, तीव्र गति तथा चालकले मादक पदार्थ वा लागुऔषध सेवन गरे–नगरेको परीक्षणलाई निरन्तरता दिइएको सुवेदीले जानकारी दिए।
दसैँ बिदा सकिएसँगै उपत्यका फर्कने यात्रुको चाप थप बढ्ने अनुमान गर्दै प्रहरीले प्रमुख नाका र राजमार्गमा आवश्यक ट्राफिक व्यवस्थापन गर्ने जनाएको छ। सुरक्षा निकायको अनुमानअनुसार दसैँका अवसरमा काठमाडौँ उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएका छन्।










