रामेछाप । दसैँको रौनकसँगै रामेछापको तामाकोशी नदी किनारका फाँटहरू पाकेको धानले पहेँलपुर बनेका छन्। धानका बाला झुलेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन्।

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्य थपेको छ। खेतमा धान काट्ने, सुकाउने र भित्र्याउने चटारो सुरु भएसँगै किसानहरू दसैँको रमझम र खेतीपातीको काममा व्यस्त छन्।

ADVERTISEMENT

नेपालको प्रमुख खाद्यबाली धानले देशको खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र र किसानको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। तराई, भित्री मधेस तथा पहाडी क्षेत्रका नदी किनार र सिँचाइ सुविधा भएका फाँटमा धान खेती गरिन्छ।

ADVERTISEMENT

कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने उत्पादन घटेर ५७ लाख ५ हजार १२६ मेट्रिक टनमा झरेको छ।

धान उत्पादनमा मौसमको महत्त्वपूर्ण भूमिका हुन्छ। खडेरी, बेमौसमी वर्षा, बाढी तथा सिँचाइको अभावले उत्पादनमा असर पार्न सक्छन्। उत्पादन वृद्धि र खेतीलाई दिगो बनाउन उन्नत बीउ, मलखादको सहज उपलब्धता, सिँचाइ सुविधा र आधुनिक कृषि प्रविधिको प्रयोग आवश्यक देखिन्छ।

ADVERTISEMENT

नेपालमा धान रोपाइँ सामान्यतया असारदेखि साउनसम्म हुने गर्छ भने स्थान र जातअनुसार असोजदेखि मंसिरसम्म बाली भित्र्याइन्छ। पहाडी क्षेत्रमा दसैँकै आसपास धान पाक्ने भएकाले किसानहरू चाडपर्वसँगै खेतीपातीको काममा पनि व्यस्त हुने गर्छन्।