जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१८, भोइलकी शान्वी मण्डलले थाइल्यान्डको ब्याङ्ककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि जितेपछि मिथिलावासीमा खुशीयाली छाएको छ। उनको सफलताले नेपाल र नेपालीको नाम अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याएको भन्दै स्थानीयवासीले गर्व व्यक्त गरेका छन्।
मिथिलाकी छोरीले विश्वमाझ आफ्नो पहिचान स्थापित गरेको भन्दै स्थानीयवासीले शान्वीको सफलतालाई महिला सशक्तीकरण र सामाजिक सोचमा परिवर्तनको प्रतीकका रूपमा लिएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–१ का स्थानीयवासी तथा वरिष्ठ पत्रकार श्यामसुन्दर शशिका अनुसार, छोरीहरू पढ्नुपर्छ भने डाक्टर वा इन्जिनियर मात्रै बन्नुपर्छ भन्ने परम्परागत सोचलाई चिर्दै शान्वीले फरक क्षेत्रमा अन्तर्राष्ट्रिय सफलता हासिल गर्नु मिथिलावासीका लागि गौरवको विषय हो।
मध्यमवर्गीय परिवारमा जन्मिएकी शान्वीले नयाँ क्षेत्रमा प्राप्त गरेको सफलतालाई उनले क्रान्तिकारी उपलब्धिका रूपमा व्याख्या गरे। उचित शिक्षा र स्वतन्त्रता प्रदान गर्न सके मिथिलाबाट शान्वीजस्तै धेरै छोरीले विश्वस्तरमा नेपाल र मिथिलाको नाम चम्काउन सक्ने उनको भनाइ छ।

जनकपुरधाम–४ की नितु कुमारी कर्णले पनि शान्वीको सफलताले सम्पूर्ण मिथिलावासीलाई गर्व महसुस गराएको बताइन्। नेपाली समाजमा छोरीहरूको मनमा अझै डर र संकोच कायम रहेको अवस्थामा शान्वीको उपलब्धि अन्य छोरीहरूका लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ। यस सफलताले मिथिलाका महिला हरेक क्षेत्रमा अघि बढ्न सक्छन् भन्ने सन्देश विश्वमाझ पुर्याएको उनले बताइन्।
त्यस्तै, जनकपुरधाम–६ का सुरजप्रसाद साहले शान्वीको सफलतासँगै जिम्मेवारी पनि थपिएको बताए। उनका अनुसार शान्वीले अब अन्तर्राष्ट्रिय मञ्चमा मिथिलाको संस्कृति र परम्परालाई चिनाउनुका साथै यस क्षेत्रका छोरीचेलीलाई अघि बढ्न प्रेरित गर्नुपर्छ। उनको सफलताले सानो गाउँकी छोरीले पनि विश्वस्तरमा आफ्नो पहिचान बनाउन सक्छिन् भन्ने सन्देश दिएको साहको भनाइ छ।
शान्वीलाई बधाई तथा शुभकामना दिन मधेश प्रदेशका सभामुख रामअशिष यादवसहित विभिन्न सांसद, नगर प्रमुख तथा उपप्रमुखहरू उनको घरमै पुगिरहेका छन्। उनको सफलताले जनकपुरधाम र समग्र मिथिलामा उत्साहसँगै छोरीहरूको क्षमता, स्वतन्त्रता र अवसरबारे नयाँ बहससमेत सिर्जना गरेको छ।











