रामेछाप । रामेछापमा असोज महिनामा विभिन्न प्रकृतिका २६ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चोरी, भवितव्य ज्यान, झुन्डिएर मृत्यु, लागूऔषध सेवन, बाल यौन दुरुपयोग, जबर्जस्ती करणी, ठगी तथा आपराधिक विश्वासघात र अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार असोज महिनामा दर्ता भएका मुद्दामध्ये चोरीका १२, भवितव्य ज्यानका चार, झुन्डिएर मृत्युका तीन, लागूऔषध सेवनका दुई र बाल यौन दुरुपयोगका दुई मुद्दा छन्। त्यस्तै, जबर्जस्ती करणी, ठगी तथा आपराधिक विश्वासघात र अभद्र व्यवहारका एक–एक मुद्दा दर्ता भएका छन्।

ADVERTISEMENT

यी घटनामा संलग्न रहेको आरोपमा १४ जना प्रतिवादी पक्राउ परेका छन् भने दुई जना फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अघिल्लो महिनाको तुलनामा असोजमा मुद्दा दर्ताको सङ्ख्या घटेको छ।

ADVERTISEMENT

प्रहरीले खाँडादेवी गाउँपालिका–२, मझुवामा गत असार १८ गते राति भएको लुटपाटको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ८५ वर्षीय वृद्ध र ८६ वर्षीया वृद्धा आफ्नै घरमा सुतिरहेका बेला तीन जनाको समूहले ढोका फुटाएर घरभित्र प्रवेश गरेको थियो। उनीहरूको हातमुख बाँधेर र आँखामा पट्टी लगाई ज्यान मार्ने धम्की दिँदै गहना तथा नगद लुटिएको थियो।

ADVERTISEMENT

उक्त घटनासँगै रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फोडेर रकम चोरी गरेको घटनामा समेत संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। उनीहरूलाई भक्तपुरका विभिन्न स्थानबाट सुनचाँदीका गहना तथा नगदसहित असोज २० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अनुसन्धानपछि रामेछाप जिल्ला अदालतको आदेशअनुसार प्रतिवादी पशुपति श्रेष्ठ, दीर्घराज मोक्तान र सुमन जर्घा मगरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। त्यस्तै, पिताम्बर गहतराज र गुणराज विश्वकर्मासँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरी तारेखमा राखिएको प्रहरीले जनाएको छ।

उमाकुण्ड गाउँपालिका–१, लाछेवरमा दुई नाबालिका छोरीसँग बस्दै आएकी एक महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा फरार रहेका फुर्छिरी थामीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनलाई असोज ५ गते फितान्डिङबाट पक्राउ गरिएको हो। पक्राउपछि अदालतमा पेस गरिएका थामीलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नशालु पदार्थ खुवाएर वृद्ध महिलालाई बेहोस बनाई सक्कली सुनका गहना चोरी गर्ने र नक्कली गहना लगाइदिने गरेको आरोपमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ।

मन्थली नगरपालिका–६, कुनौरीकी ५४ वर्षीया विभा माझीलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई सुनका गहना चोरी गरिएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रविधिको प्रयोग गरी आरोपितहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानबाट रामेछापका तीन र दोलखाका दुई गरी विभिन्न जिल्लाका वृद्ध महिलालाई लक्षित गरेर गहना चोरी गरिएको खुलेको छ। उक्त घटनामा छ जना महिला पीडित भएको विवरणमा उल्लेख छ।

घटनामा पक्राउ परेका मुख्य प्रतिवादी मैया कार्कीसँग चार लाख ५० हजार रुपैयाँ, विश्वराम विश्वकर्मासँग एक लाख रुपैयाँ तथा अन्य दुई जनासँग क्रमशः २५ हजार र २० हजार रुपैयाँ धरौटी माग गरी अदालतले तारेखमा छाडेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा फैसला कार्यान्वयनका क्रममा १० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट सात वर्ष १० महिना २७ दिन कैद तथा ११ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अदालतबाट फैसला भइसकेका मुद्दामा फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।

लागूऔषध नियन्त्रणतर्फ असोज महिनामा दुई वटा मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये एक जनाबाट ३० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा उम्रिएका गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ। प्रहरीका अनुसार तीन रोपनी क्षेत्रफलमा रहेका ५० वटा गाँजाका बोट नष्ट गरिएको हो।

असोज २२ गते प्रहरीले ४० लिटर अवैध मदिरासमेत नियन्त्रणमा लिएको जनाएको छ।

असोज महिनामा रामेछापमा चार वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न नियमित गस्ती, सवारी जाँच र निगरानीका गतिविधिलाई निरन्तरता दिएको जनाएको छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा प्रहरीले चार वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो। ती सवारीसाधनबाट एक लाख पाँच हजार रुपैयाँ जरिवाना गराई आवश्यक कारबाहीका लागि पठाइएको विवरणमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रणसँगै समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ।

असोज महिनामा ३७ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी एक हजार ६७३ जनालाई सहभागी गराइएको प्रहरीले जनाएको छ। सहभागीमध्ये ८७६ जना विद्यार्थी रहेका थिए।

सूचना अधिकारी प्रहरी निरीक्षक राउतका अनुसार जिल्लामा शान्ति सुरक्षा चुस्त बनाउन नियमित गस्ती, चेकिङ तथा अपराध नियन्त्रणका गतिविधिलाई निरन्तरता दिइएको छ।

प्रहरीले अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।