काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटनापछि महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले आइतबार राति उनलाई भेटेका छन्। मुम्बईको जुहुमा अभिनेताको कारमा पाँच राउन्ड गोली प्रहार भएको र उनी जोगिन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उपमुख्यमन्त्री शिन्देका अनुसार घटनामा टाइगरको देब्रे हातमा बारुद र सिसाका टुक्राले चोट लागेको छ। उनका चालक पनि घाइते भएका छन्। घटनाले अभिनेता र उनकी आमालाई स्तब्ध बनाएको शिन्देले बताएका छन्।

ADVERTISEMENT

अभिनेतालाई भेटेपछि शिन्देले राज्य सरकार र मुम्बई प्रहरी उनको साथमा रहेको बताएका छन्। उनले धम्की र हिंसाका घटनालाई सह्य नहुने उल्लेख गर्दै दोषीमाथि कारबाही गरिने बताएका छन्।

ADVERTISEMENT

घटनापछि महाराष्ट्रका विपक्षी दलले राज्यको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। कंग्रेस र शरद पवार नेतृत्वको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) ले सर्वसाधारणलाई सुरक्षा दिन सरकार असफल भएको आरोप लगाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा आएका व्यक्तिहरूले टाइगर सवार कारमा गोली चलाएका थिए। घटनामा कार चालकसँगै नजिकै रहेका एक अटोचालक पनि घाइते भएको जनाइएको छ। दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ।

ADVERTISEMENT

यसैबीच, लरेन्स ग्याङसँग सम्बन्धित अनिल पण्डित र हरमन सन्धुले सामाजिक सञ्जालमार्फत गोली प्रहारको जिम्मेवारी लिएको दाबी गरिएको छ। अनिल पण्डितले मुम्बई फिल्म उद्योगमा आफूहरूको कुरा नसुन्ने वा सलमान खानसँग काम गर्ने व्यक्तिलाई निशाना बनाउने धम्कीसमेत दिएका छन्।

घटनाको अनुसन्धान र जिम्मेवारी लिएको दाबीको आधिकारिक पुष्टि भने सम्बन्धित प्रहरी निकायबाट हुन बाँकी छ।