काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले प्रतिस्पर्धी जनकराज गिरीलाई पराजित गर्दै सहमहामन्त्री पदमा जित हासिल गरेका हुन्।

निर्वाचनमा शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दा गिरीले १ हजार ३७० मत पाए। शाहीले गिरीभन्दा २ हजार ५३६ मत बढी प्राप्त गरेका छन्।

ADVERTISEMENT

शाहीले सहमहामन्त्रीमा दोस्रो प्रयासमा सफलता पाएका हुन्। २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीका उम्मेदवार थिए। त्यतिबेला शेखर कोइराला पक्षका बद्री पाण्डेसँग उनी पराजित भएका थिए।

ADVERTISEMENT

कांग्रेस नेता पूर्णबहादुर खड्कानिकट मानिने शाही असोज १ गते गगन थापा नेतृत्वको कार्यसमितिमा प्रवेश गरेका थिए। १५औँ महाधिवेशनमा विशेष महाधिवेशन पक्षधरको प्रभाव देखिए पनि शाहीले भने फराकिलो मतान्तरसहित जित हासिल गरेका छन्।

पाइलटको तालिमदेखि राजनीतिसम्म

२०२१ फागुन २० गते हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खर्पेलमा जन्मिएका शाहीले काठमाडौंको बूढानीलकण्ठ विद्यालयमा अध्ययन गरेका थिए। उनले संयुक्त राज्य अमेरिकाबाट पाइलटको तालिमसमेत लिएका थिए। पछि उनी राजनीतिमा सक्रिय भए।

ADVERTISEMENT

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका शाही २०४६ सालदेखि राजनीतिमा सक्रिय छन्। प्रजातन्त्रका लागि संघर्ष गर्ने क्रममा उनी केही समय भूमिगतसमेत भएका थिए। २०६२–६३ सालको जनआन्दोलनका क्रममा उनले तीन महिना जेल जीवन बिताएका थिए।

शाही २०४६ देखि २०६२ सालसम्म हुम्ला कांग्रेसको सभापति रहे। २०५५ सालमा जिल्ला विकास समितिको सभापति बनेका उनी जिल्ला विकास समिति महासंघको केन्द्रीय सदस्यसमेत भएका थिए।

२०५९ सालमा शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजन हुँदा शाही तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि २०६७ सालमा सम्पन्न १२औँ र २०७२ सालको १३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए।

१४औँ महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भए पनि तत्कालीन सभापति देउवाले उनलाई केन्द्रीय कार्यसम्पादन समितिमा समेटेका थिए। २०६८ देखि २०७२ सालसम्म उनले कांग्रेसको महाकाली इन्चार्जको जिम्मेवारीसमेत सम्हाले।

संविधानसभा सदस्यदेखि कर्णालीको मुख्यमन्त्रीसम्म

२०७० सालमा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका शाहीले संसद्को विकास समिति सदस्य र कर्णाली विकास उपसमितिको संयोजकका रूपमा काम गरेका थिए।

२०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र खानेपानी तथा सरसफाइमन्त्री बनेका थिए।

२०७४ सालदेखि कर्णाली प्रदेशसभामा रहेका शाहीले प्रदेश सरकारको नेतृत्वसमेत गरेका छन्। उनी कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेतासमेत हुन्।

सामाजिक क्षेत्रमा पनि सक्रिय शाही स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्ला, सामुदायिक रेडियो कैलाश एफएम, नेपाल रेडक्रस सोसाइटी र द रेयुकाई नेपाल हुम्लासँग आबद्ध रहेर काम गरेका छन्। उनी विभिन्न संस्थाको संस्थापक अध्यक्षसमेत रहेका छन्।