काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा समेत निहित रहेको बताएका छन्।
सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक सङ्गठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
महानिरीक्षक कार्कीले साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता बदलिँदा सुरक्षा चुनौतीको सामना गर्न प्रहरीको कार्यशैलीमा आवश्यक परिवर्तन गर्नुपर्ने बताए। सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बौद्धिकता (एआई) को विवेकपूर्ण प्रयोग गर्दै मानवअधिकार, कानुनी प्रक्रिया र व्यावसायिक विवेकलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
उनले प्रहरी कर्मचारीलाई व्यक्तिगत धारणा, बाह्य प्रभाव र कुनै पनि प्रकारको अनुचित दबाबबाट मुक्त रही कानुनको निष्पक्ष कार्यान्वयन गर्न निर्देशन दिए। कानुन कार्यान्वयन गर्नु मात्र पर्याप्त नभई त्यसको प्रक्रिया पनि पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्ने उनले उल्लेख गरे।
कार्कीले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा संवेदनशीलता, गोपनीयता र पीडितकेन्द्रित दृष्टिकोण अपनाउनुपर्ने बताए।
नागरिकले प्रहरीको निर्णयप्रति असहमति जनाए पनि प्रहरीको व्यवहार र कार्यसम्पादन निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। प्रहरीलाई नागरिकको सहयोगी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न मातहतका कर्मचारीलाई उनले निर्देशनसमेत दिए।
महानिरीक्षक कार्कीले नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी सङ्गठनका रूपमा विकास गर्न निरन्तर प्रयास भइरहेको बताए।
प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा व्यावसायिक तालिम पूरा गरेका प्रहरी अधिकृतहरू सहभागी थिए। तालिम पूरा गरेका अधिकृतहरू अब कार्यक्षेत्रमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।







