नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज (सोमबार) नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य पदको मत गणना थालिँदै छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले बिहान ८ बजे नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका उम्मेदवार (मतपत्र नं. २१) को मत गन्न सुरु गरिने भएको हो।

ADVERTISEMENT

मत गणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा हुनेछ। मत गणनामा उम्मेदवार स्वंयबाहेक अन्य प्रतिनिधिको व्यवस्था नभएको जानकारी निर्वाचन समितिले गराएको छ।

ADVERTISEMENT

यसअघि आइतबार अबेर राति उपसभापति र महामन्त्री पदको अन्तिम मतपरिणाम (नतिजा) सार्वजनिक गरिएको छ।सहमहामन्त्री र महिला केन्द्रीय सदस्य खुला पदको मत गणना जारी छ।

ADVERTISEMENT

पन्ध्रौँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय बनाइएको छ। १५औँ महाधिवेशनबाट पारित नयाँ विधानको व्यवस्थाअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, २ खुला, एक महिला र एक समावेशीसहित ४ उपसभापति, एक महिलासहित तीन महामन्त्री, दुई खुलासहित एक महिला, एक आदिवासी जनजाति, एक दलित, एक मधेसी, एक खसआर्य, एक थारू, एक मुस्लिम, एक पिछाडिएको क्षेत्र र अल्पसंख्यक/अपांगता भएका व्यक्तिबाट एकसहित ११ सहमहामन्त्री निर्वाचित रहनेछन्।

केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट एक महिलासहित चार सहमहामन्त्री र एक कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्नेछन्। यस्तै सभापतिले कार्यसमिति सदस्यमध्येबाट एक प्रवक्ता र आवश्यकताअनुसार विषयगत रूपमा सहप्रवक्ता पनि मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ।

अहिलेसम्म सभापति (गगन थापा), वरिष्ठ उपसभापति (विश्वप्रकाश शर्मा), महिला उपसभापति (पुष्पा भुसाल), ४ उपसभापति, ३ महामन्त्री र एक केन्द्रीय सदस्य (प्राडा अमिता प्रधान शाक्य) केन्द्रीय सदस्य चुनिइसकेका छन्।