काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गरेका छन्। त्यस्तै, उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्दै अग्रता लिएका छन्।
पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार उदयशमशेर राणाले ७८३ मत प्राप्त गरेका छन् भने अमरसिंह पुनले ६८७ मत पाएका छन्। मतगणनाको प्रारम्भिक चरणमा पुन अगाडि थिए।
महामन्त्री पदमै प्रतिस्पर्धा गरिरहेका प्रदीप पौडेलले १ हजार ३७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी सुनिल शर्माले ५३९ मत पाएका छन्। यस पदका अन्य उम्मेदवारमा गुरुराज घिमिरे, शंकर तिवारी र डा. सन्तोष उपाध्याय छन्।
नेपाली कांग्रेसको महामन्त्री पदमा खुलातर्फ दुई जना र महिलातर्फ एक जना निर्वाचित हुने व्यवस्था छ।
निर्वाचन समितिले शनिबार रातिदेखि उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरेको थियो। समितिका अनुसार सहमहामन्त्री पदमा महिला र खुलातर्फको मतगणना आइतबार बिहान ११ बजेदेखि सुरु गरिएको छ। आदिवासी जनजातितर्फको सहमहामन्त्री पदको मतगणना भने मध्याह्नपछि सुरु गरिएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।












