काठमाडौं । नेपालको डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्याउने बैंक, वित्तीय संस्था, व्यवसाय तथा प्रविधि साझेदारलाई सम्मान गरेको छ। फोनपेले पहिलोपटक आयोजना गरेको ‘फोनपे अनर्स २०८३’ मा ७ विधाअन्तर्गत २५ वटा अवार्ड प्रदान गरिएको हो।
काठमाडौंस्थित द सोल्टीमा आयोजित कार्यक्रममा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, फिनटेक, व्यवसायी, प्रविधि साझेदार, सञ्चारमाध्यम र डिजिटल इन्फ्लुएन्सरसहित ४०० भन्दा बढी प्रतिनिधि सहभागी थिए। कार्यक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
खनालले डिजिटल भुक्तानी नेपालको वित्तीय तथा आर्थिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै गएको बताए। उनले डिजिटल अर्थतन्त्रलाई थप विस्तार गर्न नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकासमा जोड दिनुपर्ने धारणा राखे।
फोनपेका चार नयाँ सेवा सार्वजनिक
अवार्ड समारोहअघि फोनपेले डिजिटल भुक्तानीलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले चार नयाँ सेवा तथा प्लेटफर्म सार्वजनिक गरेको छ।
अटोपे बाइ फोनपे मार्फत ग्राहकले युटिलिटी बिल, सदस्यता शुल्क र नियमित रकम स्थानान्तरणजस्ता भुक्तानी स्वचालित रूपमा गर्न सक्नेछन्।
फोनपे सर्कल ले परिवार, व्यवसाय तथा समूहमा हुने खर्च व्यवस्थापन र रकम बाँडफाँटलाई सहज बनाउनेछ।
टक टु पे सेवाले आवाजको निर्देशनमार्फत भुक्तानी प्रक्रिया अघि बढाउन सकिने सुविधा ल्याएको छ। यसले टाइप नगरी आवाजमार्फत डिजिटल भुक्तानी गर्न चाहने प्रयोगकर्तालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गरी फोनबिज (FoneBiz) नाम दिइएको छ। यस प्लेटफर्मबाट व्यवसायीले भुक्तानीको विवरण हेर्न, कर्मचारीको तलब तथा विक्रेतालाई रकम भुक्तानी गर्न, व्यावसायिक प्रतिवेदन हेर्न, कर्जाका लागि आवेदन दिन र लोयल्टी कार्यक्रममा सहभागी हुन सक्नेछन्।
यी बैंक तथा संस्थाले पाए अवार्ड
फोनपे क्यूआर कारोबारमा ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, मञ्जुश्री फाइनान्स र इसेवाले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन्। कुमारी बैंकले फोनपे क्यूआरका लागि सबैभन्दा बढी सक्रिय व्यापारी आबद्ध गर्ने साझेदारको अवार्ड पाएको छ।
फोनपे डाइरेक्टतर्फ ग्लोबल आइएमई बैंक, मुक्तिनाथ विकास बैंक र मञ्जुश्री फाइनान्सले विभिन्न विधामा अवार्ड जितेका छन्। फोनपे बिल्समा सर्वाधिक कारोबार गर्ने साझेदारका रूपमा नबिल बैंक सम्मानित भएको छ।
सीमापार भुक्तानीमा सर्वाधिक कारोबार र सर्वाधिक रकमको कारोबार गर्ने दुवै अवार्ड इसेवाले पाएको छ। फोनपे क्रेडिट कार्ड जारी गर्ने विभिन्न विधामा लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्स सम्मानित भएका छन् भने क्रेडिट कार्ड कारोबारतर्फ सिटिजन्स बैंकले अवार्ड प्राप्त गरेको छ।
व्यापारी विधामा फोनपे क्यूआर भुक्तानी स्वीकार गर्ने व्यापारीका रूपमा मेगा मार्ट र फोनपे क्रेडिट कार्ड भुक्तानी स्वीकार गर्ने व्यापारीका रूपमा भाटभटेनी सुपर मार्केट सम्मानित भएका छन्।
विशेष अवार्डतर्फ रणनीतिक सहकार्यका लागि सिटिजन्स बैंक, उद्यम स्रोत योजना एकीकरणका लागि आईएमएस सफ्टवेयर, वित्तीय प्रविधि प्रणाली विकासमा योगदानका लागि काठमाडौं फिनटेक र डिजिटल भुक्तानीमा योगदानका लागि भाटभटेनी सुपर मार्केट सम्मानित भएका छन्।
कार्यक्रमको समापन गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले नेपालको डिजिटल भुक्तानी इकोसिस्टम नियामक निकाय, वित्तीय संस्था, व्यापारी, प्रविधि साझेदार र प्रयोगकर्ताको सामूहिक प्रयासबाट विकास भएको बताए। उनले आगामी दिनमा पनि सहकार्य, विश्वास र नवप्रवर्तनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
फोनपेले ‘फोनपे अनर्स’लाई नेपालको डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यको सम्मान गर्ने वार्षिक मञ्चका रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ।







