काठमाडौं । एनएमबी बैंक लिमिटेडले सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँगको सहकार्यमा लुप नेटवर्कमार्फत पर्चेज क्रेडिट र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु गर्ने भएको छ।
यसका लागि बैंकले लुप नेटवर्कमा ‘इसुअर बैंक’ का रूपमा आबद्ध हुन तीन पक्षबीच सम्झौता गरेको हो। यस सहकार्यबाट बैंकका ग्राहकले डिजिटल माध्यमबाट सहजै कर्जा तथा किस्ताबन्दी सुविधा लिन सक्नेछन्।
सम्झौतापछि एनएमबी बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा तत्काल पर्चेज क्रेडिट अर्थात् ‘लुप क्रेडिट’ सुविधा पाउनेछन्।
त्यस्तै, ग्राहकले आफ्नो एनएमबी डेबिट कार्ड वा क्यूआरमार्फत गरेको भुक्तानीलाई पनि मासिक किस्ताबन्दी अर्थात् ‘लुप ईएमआई’ मा रूपान्तरण गर्न सक्नेछन्।
बैंकका अनुसार यो सेवाले ग्राहकलाई तत्काल वित्तीय पहुँच उपलब्ध गराउनुका साथै सामान खरिद, बजेट व्यवस्थापन र भुक्तानी प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।







