काठमाडौं । एनएमबी बैंकले पुराना इभी खरिदका लागि पनि कर्जा सुविधा सुरु गरेको छ । नयाँ इभीमा सहज रूपमा बैंकिङ कर्जा उपलब्ध हुँदै आएको अवस्थामा रिकन्डिसन (पुराना) इभी खरिदमा कर्जा दिने व्यवस्था भने निकै सीमित थियो । यस्तो अवस्थामा एनएमबी बैंकले नयाँ योजना सार्वजनिक गर्दै पुराना इभी खरिदकर्तालाई समेत वित्तीय पहुँच उपलब्ध गराउने भएको हो ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार नयाँ सवारी खरिद गर्दा सवारीको मूल्यको अधिकतम ६० प्रतिशतसम्म कर्जा लिन सकिन्छ । तर, पुराना इभीको पुनर्बिक्री बजार अझै पूर्ण रूपमा व्यवस्थित नभएका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाले यस्तो क्षेत्रमा लगानी गर्न रुचि देखाएका थिएनन् । यसले पुराना इभीको कारोबारमा चुनौती थप्दै आएको थियो ।

एनएमबी बैंकका अनुसार बजारमा पुराना इभी खरिद गर्न चाहने ग्राहकको संख्या बढ्दै गए पनि आवश्यक वित्तीय सुविधा अभाव रहेको देखिएपछि यस्तो कर्जा योजना सञ्चालनमा ल्याइएको हो । बैंकले यसलाई नेपालको रिकन्डिसन इभी बजारलाई व्यवस्थित बनाउन र हरित यातायातको विस्तारमा सहयोग पुग्ने कदमका रूपमा लिएको जनाएको छ ।
पाँच वर्षसम्म कर्जा सुविधा

ADVERTISEMENT

बैंकले पुराना इभी खरिदका लागि अधिकतम पाँच वर्षसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यद्यपि, कर्जाको अवधि सम्बन्धित गाडीको ब्याट्री र मोटरको बाँकी वारेन्टी अवधिसँग जोडिनेछ । यसका लागि एक वर्षका लागि वारेन्टीको आधार लागू गरिएको छ । अर्थात् ब्याट्री र मोटरको जति वर्ष वारेन्टी बाँकी छ, त्यसभन्दा एक वर्ष कम अवधिका लागि मात्र कर्जा उपलब्ध हुनेछ ।

ADVERTISEMENT

ब्याट्री हेल्थ र अन्य मापदण्ड अनिवार्य

कर्जा लिन इभीको ब्याट्री हेल्थ न्यूनतम ८० प्रतिशत हुनुपर्नेछ । आधिकारिक सर्भिस सेन्टरबाट प्रमाणित गरिएको र ३० दिनभन्दा पुरानो नभएको ब्याट्री हेल्थ प्रमाणपत्र अनिवार्य गरिएको बैंकले जनाएको छ । यदि ग्राहकले अर्को बैंकबाट लिएको कर्जा स्थानान्तरण गर्न चाहेको अवस्थामा भने ब्याट्री हेल्थ कम्तीमा ९० प्रतिशत हुनुपर्नेछ । यसका अतिरिक्त, खरिद गर्न लागिएको इभी उत्पादन भएको १० वर्ष ननाघेको हुनुपर्नेछ । गाडीमा अटो प्लस इन्स्योरेन्स अनिवार्य गरिएको छ भने कम्पनीले उत्पादन बन्द गरिसकेका मोडलहरूमा भने यो सुविधा उपलब्ध नहुने बैंकले स्पष्ट पारेको छ ।

३५ लाख रुपैयाँसम्म कर्जा

एनएमबी बैंकले हालका लागि पुराना इभी खरिदमा अधिकतम ३५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार सवारीको मूल्यको ६० प्रतिशतसम्म कर्जा दिन सकिने भए पनि एनएमबीले सुरुवाती चरणमा आधिकारिक रिकन्डिसन हाउसले निर्धारण गरेको मूल्यको अधिकतम ५५ प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्ने नीति अपनाएको छ। बैंकका अनुसार ग्राहकको वित्तीय अवस्था, क्रेडिट हिस्ट्री तथा अन्य आवश्यक मापदण्ड पूरा भएमा विशेष अवस्थामा ६० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था पनि रहेको छ ।

ब्याजदर कति ?

यो कर्जामा एनएमबी बैंकले आफ्नो बेस रेटमा न्यूनतम ०.७५ प्रतिशतदेखि अधिकतम २.५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने जनाएको छ । हाल बैंकको बेस रेट ५.११ प्रतिशत रहेकाले ग्राहकले न्यूनतम ५.८६ प्रतिशतदेखि अधिकतम ७.६१ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, कर्जा स्वीकृत गर्दा ०.७५ प्रतिशत सेवा शुल्क लाग्नेछ ।
पुराना इभी खरिदका लागि कर्जा आवेदन दिँदा नयाँ सवारी खरिदमा आवश्यक पर्ने अधिकांश कागजात अनिवार्य हुनेछन् । व्यक्तिगत ग्राहकले नागरिकता, स्थायी लेखा नम्बर, आम्दानीको स्रोत खुल्ने कागजात, फोटो, सवारीको सर्भिस बुक, आधिकारिक मूल्यांकन प्रतिवेदन तथा आधिकारिक डिलर वा सर्भिस सेन्टरबाट जारी गरिएको ब्याट्री हेल्थ प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको नाममा कर्जा लिने अवस्थामा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, अडिट प्रतिवेदन तथा व्यवसायको प्रोजेक्सन रिपोर्ट आवश्यक पर्ने बैंकले जनाएको छ।बैंकका अनुसार आवश्यक सबै प्रक्रिया पूरा भएपछि एकदेखि दुई कार्यदिनभित्र कर्जा स्वीकृति तथा डेलिभरी अर्डर उपलब्ध गराइनेछ ।