काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।
प्रस्ताव पारित भएपछि शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे। ‘बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले पेश गरेका छौँ। यो पनि ऐतिहासिक हो,’ उनले भने।
उनले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए। ‘कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ। यस्तो कांग्रेस बनाउन खोजेको हो,’ उनले भने।

त्यस्तै, बन्दसत्रले महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित गरेको छ। घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ।
बन्द सत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ। प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ।

यसैगरी, महाधिवेशनको बन्दसत्रबाट कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ।
बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले कांग्रेसको आर्थिक अवस्था, आय-व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि छलफलपछि बन्द सत्रले पारित गरेको हो।







