हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

कांग्रेसले आफ्ना सांसदहरूलाई तटस्थ नबस्नसमेत निर्देशन दिएको छ। प्रमुख सचेतक महर्जनद्वारा जारी पत्रमा प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको उल्लेख छ।

ADVERTISEMENT

मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि प्रदेशसभा बैठकसमेत आह्वान गरिएको छ।

ADVERTISEMENT

थापा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनी गत बिहीबार सरकार गठनका लागि दाबी पेस गरी शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिन उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

ADVERTISEMENT

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै कांग्रेसले विपक्षमा मतदान गर्न ह्विप जारी गरेपछि बागमती प्रदेश सरकारको आगामी राजनीतिक समीकरण थप चासोको विषय बनेको छ।