काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १०ः३० बजेका लागि तय गरिएको बन्दसत्र वर्षाका कारण प्रभावित भएपछि दिउँसो ४ बजेपछि सुरु हुने भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा तय गरिएको बन्दसत्रको कार्यक्रम वर्षाका कारण प्रभावित भएपछि समय सारिएको हो। बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर आजै पारित गर्ने कांग्रेसको तयारी छ। यसअघि प्रस्तुत भएका सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।

कांग्रेसका अनुसार बाँकी छलफल पूरा भएपछि राजनीतिक, समसामयिक, सांगठनिक तथा आर्थिक प्रस्ताव र प्रतिवेदन पारित गरिनेछ। बन्दसत्रको कार्यक्रम सम्पन्न भएपछि महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ। कांग्रेसले भोलि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। वर्षाका कारण कार्यक्रम प्रभावित भए पनि आजै बन्दसत्र सम्पन्न गरी महाधिवेशनको निर्धारित कार्यतालिकाअनुसार नेतृत्व चयनतर्फ अघि बढ्ने कांग्रेसको तयारी छ।

ADVERTISEMENT

 

ADVERTISEMENT