काठमाडौं । विपिन जोशीका आमा र बहिनीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन् । अघिल्लो सोमवारदेखि इजरायलमा रहेका विपिनका आमा पद्मा र बहिनी पुष्पाले मंगलबार नेतान्याहुलाई भेटेका हुन् ।
प्रधानमन्त्री कार्यालयमा करिब आधा घण्टा भएको भेटमा प्रधानमन्त्री नेतान्याहुले बिपिनको खोजीका लागि हरसम्भव सबै प्रयास जारी रहेको जानकारी दिएको नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् । उनले बिपिनको अवस्था अज्ञात रहेकोमा इजरायल सरकार र जनता दुःखी रहेको पनि बताएका थिए ।
परिवारजनले यसअघि राष्ट्रपति आइज्याक हरजोग, सभामुख अमिर ओहाना, विदेशमन्त्री गिदोन साअर, प्रधानमन्त्रीका सल्लाहकार, इजरायली डिफेन्स फोर्स (आइडिएफ) का प्रमुख जनरल रभ अलुफ इयाल जमिरग भेट गरिसकेका छन् ।
२०८० असोज २३ मा हमास समूहको अपहरणपछि प्यालेस्टाइनको गाजामा बन्धक बनाइएको विश्वास गरिएका कञ्चनपुरका बिपिनको अवस्था अझै यकिन छैन । इजरायल सरकारको व्यवस्थापन र कार्यतालिकामा गएका बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले सबै इजरायली अधिकारीलाई बिपिनको छिटो खोजी गरिदिन अनुरोध गरेका छन् ।






