काठमाडौं । नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ ।
पाँच दशक पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल र ब्राजिलका विदेशमन्त्री माउरो भिएराले ५०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् ।
ब्रासिलियास्थित नेपाली दूतावासका अनुसार दुवै मन्त्रीले नेपाल–ब्राजिलबीचको सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र गहिरो बनाउनेमा पनि उनीहरूले जोड दिएका छन् ।
नेपालको परराष्ट्र मन्त्रालय र ब्राजिलको विदेश मन्त्रालयले द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को आगामी बैठकको तयारीसमेत गरिरहेका छन् । उक्त बैठक नेपाल सरकारले काठमाडौंमा आयोजना गर्नेछ ।
दुवै मन्त्रीले काठमाडौं र ब्रासिलियामा रहेका कूटनीतिक नियोगहरूले साझा एजेन्डा अघि बढाउन खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
परराष्ट्रमन्त्री खनालले ब्राजिलले सामाजिक तथा आर्थिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै जलवायु परिवर्तनको क्षेत्रमा ब्राजिलले देखाएको नेतृत्वको समेत सराहना गरे ।
उनले ग्लोबल साउथको आवाजलाई बलियो बनाउन ब्राजिलले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । मन्त्री खनालले नेपाल र ब्राजिलबीच द्विपक्षीय तथा बहुपक्षीय दुवै मञ्चमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
ब्राजिलका विदेशमन्त्री माउरो भिएराले नेपाल र ब्राजिलबीच मित्रता, पारस्परिक विश्वास तथा साझा मूल्यमा आधारित बलियो साझेदारी रहेको बताएका छन् ।







