काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच कुन पार्टीले कति समय सत्ता चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्नेमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले अब राजनीतिक दलहरू राष्ट्र निर्माणको साझा उद्देश्यसहित एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।
उनले कांग्रेसको महाधिवेशनमार्फत राजनीतिक दलहरूलाई सत्ता केन्द्रित प्रतिस्पर्धाभन्दा देश निर्माणमा ध्यान दिन आग्रह गरे।
‘यो महाधिवेशनबाट एउटा अनुरोध गर्न चाहन्छु, अब हामीले कुन पार्टीले कति समय सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि देशका लागि राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ,’ उनले भने।
राईले नेपाली कांग्रेस कुनै हल्लाका आधारमा स्थापित भएको पार्टी नभएको पनि बताए। लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाले आफ्नो निजी स्वार्थ र सपना त्यागेर कांग्रेस निर्माण गरेको आफूहरूले बुझेको उनको भनाइ थियो।
‘नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी होइन, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टी हो,’ उनले भने।
महासचिव राईले आगामी दिनमा राष्ट्र निर्माणका लागि सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।







