काठमाडौं । निर्वाचन आयोगले विदेशबाट र अन्तर जिल्ला मतदानको व्यवस्था गर्नेबारे २४ वटा राजनीतिक दलको राय लिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरुसँग छलफल गरिएको छ ।

ADVERTISEMENT

२४ वटा राजनीतिक दललाई आमन्त्रण गरिएको कार्यक्रममा निर्वाचन आयोगबाट निर्वाचनका विविध विषयहरुमा प्रस्तुतीकरण समेत गरिएको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

ADVERTISEMENT

राजनीतिक दलहरूसँग ‘विशेषगरी निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता, बदर मतको न्यूनीकरण, मतदाता नामावलीको शुध्दता, विदेश तथा अन्तर जिल्ला मतदानको व्यवस्थाका विषयमा छलफल भएको’ आयोगले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

साथै, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्चमा न्यूनीकरण, मतदाता शिक्षा, राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कार्यहरु लगायत समग्र निर्वाचन सुधारका विषयमा समेत छलफल भएको छ ।

ADVERTISEMENT

नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको छ । तर आफ्नो स्थायी ठेगाना भन्दा बाहिर अस्थायी बसोवास भएका नागरिकले मतदानको अधिकार प्रयोग गर्न पाएका छैनन् ।

निर्वाचनमा प्रविधिको प्रयोग गर्दा विज्ञहरुको सल्लाहमा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्नेगरी अध्ययन गरेर मात्र गर्नुपर्ने सुझाव आयोगले प्राप्त गरेको छ ।

निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा, मतदाता नामावली तयारी जस्ता कुराहरुमा राजनीतिक दलहरुले आयोगलाई सहयोग गर्नुपर्ने आयोगकै आग्रह छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीज्यूले राजनीतिक दल र आयोगको आपसी सहयोग एवम् सहकार्यमा लोकतान्त्रिक पध्दति बमोजिम निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार गर्न सकिने बताए ।

यसो हुँदा सबै दलहरुबाट उल्लेखनीय सहयोग प्राप्त भइरहेको र आगामी दिनमा पनि सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आयोगका निर्वाचन आयुक्तहरू डा.जानकी कुमारी तुलाधर, सगुन शम्सेर ज.ब.रा.., गुरुप्रसाद वाग्ले, डा. राजीव सुब्बा र आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई लगायतको समेत उपस्थिति रहेको थियो ।