काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर तथा दुई पटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको छ।
मोइन अली यस सिजन जनकपुर बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी बनेका छन्। यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ।
बायाँ हाते ब्याटर तथा अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल युगका प्रमुख खेलाडीमध्ये एक हुन्। उनी सन् २०१९ मा घरेलु मैदानमा एकदिवसीय विश्वकप जितेको इंग्ल्यान्ड टोलीका सदस्य थिए। त्यसैगरी, सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकप जित्दा उनी इंग्ल्यान्ड टोलीका उपकप्तान थिए।
मोइनले इंग्ल्यान्डका लागि तीनै ढाँचाको क्रिकेट खेलेका छन्। उनी टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने सीमित अंग्रेज खेलाडीमध्ये पर्छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानीसमेत गरिसकेका छन्।
सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन अहिले विश्वका प्रमुख फ्रेन्चाइज लिगमा सक्रिय छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सबाट खेल्दै उनले सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए। जनकपुर बोल्ट्समा आबद्ध भएपछि मोइनले नेपाली क्रिकेटको माहोल प्रत्यक्ष अनुभव गर्न आफू आतुर रहेको बताएका छन्।
‘नेपाली क्रिकेट समर्थकहरूको अपार जोश र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु। अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु,’ उनले भने, ‘बोल्ट्सका लागि यो सिजन रोमाञ्चक रहने अपेक्षा छ। म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु।’
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मोइन अलीको अनुबन्धन मधेशका क्रिकेटप्रेमीका लागि उपहार भएको बताएका छन्।
‘अलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो। यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेशका जनताप्रति समर्पित छ,’ उनले भने, ‘तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो। यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ।’







