काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको २१औँ अधिवेशन १४५ दिनको कार्यावधिपछि शुक्रबार सम्पन्न भएको छ ।

गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गतेसम्म सञ्चालन भएको थियो । यस अवधिमा राष्ट्रिय सभाका ५२ वटा बैठक बसेका छन् । ती बैठकमा कुल ९८ घण्टा १० मिनेट संसदीय कामकारबाहीमा समय खर्च भएको छ ।

ADVERTISEMENT

अधिवेशनका क्रममा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारीलगायत विषयसँग सम्बन्धित अध्यादेशलाई विधेयकका रूपमा पारित गरिएको थियो । यससँगै विभिन्न महत्त्वपूर्ण कानुनी विषयमा रहेका जटिलता फुकाउने काम भएको राष्ट्रिय सभाले जनाएको छ ।

ADVERTISEMENT

विधायकी भूमिकासँगै राष्ट्रिय सभाले नागरिक सरोकारका विषयमा सरकारलाई निर्देशनसमेत दिएको थियो । बजारमा ग्यास अभाव तथा प्राकृतिक विपद्को जोखिम व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो ।

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारलाई विशेष निर्देशन दिइएको थियो । बाढी तथा विपद् व्यवस्थापनका विषयमा अध्ययन र अनुगमन गर्न संसदीय विशेष समितिसमेत गठन गरिएको थियो ।

ADVERTISEMENT

अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा राष्ट्रिय सभाले भूमिका खेलेको थियो । विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनमाथि छलफल गरी कार्यान्वयनका लागि सरकारलाई निर्देशनसमेत दिइएको थियो ।

तर, सरकारले पर्याप्त विधेयक समयमै दर्ता गर्न नसक्दा कहिलेकाहीँ ‘बिजनेस’को अभावमा बैठक प्रभावित हुनुपर्ने अवस्था आएकोप्रति राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चिन्ता व्यक्त गरेका छन् ।