काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ‘नेपाली विशेषताको समाजवाद’को कुरा गरिरहेको बताएका छन् ।
शुक्रबार मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले वर्ग रहेसम्म वर्गसंघर्ष कायम रहने बताएका हुन् ।
ओलीले सुरक्षा, समृद्धि र सम्मान हासिल गर्दै सुखी नेपाली बनाउने लक्ष्यमा अघि बढ्नुपर्ने बताए ।
उनले गरिबी हटाउन नसकिने विषय नभएको उल्लेख गर्दै विभिन्न देशले चरम गरिबी हटाएर समाजलाई माथिल्लो तहमा पुर्याएको बताए । नेपालले पनि लगभग चरम गरिबी हटाइसकेको अवस्थामा विकासको अभियान रोक्ने प्रयास भएको उनको दाबी थियो ।
ओलीले एमाले जिम्मेवार राज्य र जिम्मेवार अर्थतन्त्रको पक्षमा रहेको बताए । कोही पनि पछाडि नपरोस् भन्ने अभियान पार्टीको महत्वपूर्ण उद्देश्य भएको उनको भनाइ थियो । उनले एमालेले उन्नत र सामाजिक विचार बोकेको दाबी गर्दै ‘परिपूर्ण लोकतन्त्र’लाई महान् योगदानको सारसंक्षेपका रूपमा व्याख्या गरे ।
ओलीले जिम्मेवार सरकार आवश्यक रहेको बताउँदै जसको कोही छैन, उसको पनि सरकार छ भन्ने मान्यतामा एमाले अघि बढेको बताए । यस्तो उद्देश्य बोकेको पार्टीलाई कहिलेकाहीँ राजनीतिक धक्का पर्न सक्ने उनको भनाइ थियो ।







