काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएको छ । सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ९० प्रतिशत बढी हो । बैंकको सञ्चालन मुनाफा भने ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुग्नेछ । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी, ग्राहक, नियामक निकाय तथा शुभेच्छुकको निरन्तर साथ र सहयोगका कारण बैंकले दुई दशकको यात्रा पूरा गर्न सफल भएको बताए ।
उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । ग्राहकलाई सहज तथा अत्याधुनिक सेवा उपलब्ध गराउन डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने पनि उनले बताए ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ ।

ग्लोबल आइएमई बैंकका अनुसार बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।
यसैगरी, हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोग तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम समावेश रहेको बैंकले जनाएको छ ।







