काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।बैंकले ‘ग्लोबल मनि विक २०२६’ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

बैंकका अनुसार यस वर्षको मुख्य नारा “स्मार्ट मनि टक्स” लाई आत्मसात गर्दै मार्च १६ देखि मार्च २२, २०२६ सम्म देशभरका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ।यस अवधिमा बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्ने जनाएको छ।

ADVERTISEMENT

वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैंकले प्रत्येक वर्ष आफ्ना शाखा कार्यालयमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा हालसम्म बैंकका ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी तथा वित्तीय अनुशासनसम्बन्धी विषयमा जानकारी प्रदान गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित भइसकेको छ। बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि विभिन्न विधामा सम्मानित हुँदै आएको छ।

ADVERTISEMENT

मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकका हाल ३५२ शाखा कार्यालय, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन्। बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले बैंकिङ सेवासँगै विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशबाट बैंकमार्फत रेमिट्यान्स भित्रिने गरेको छ।