काठमाडौँ, असोज १६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनको दौड तीव्र बनेको छ। सभापतिमा गगनकुमार थापाको सम्भावित उम्मेदवारीसँगै महामन्त्री पदमा आकाङ्क्षीहरूको संख्या बढ्दै गएको छ।

असोज १८ गते काठमाडौँको खुलामञ्चमा महाधिवेशन उद्घाटन हुँदैछ। प्रतिकूल मौसमका कारण असोज १६ गतेका लागि तय भएको महाधिवेशन दुई दिन पछि सारिएको हो।नयाँ कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार हुनेछ। असोज १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन गर्ने गरी कार्यतालिका तय गरिएको छ।

ADVERTISEMENT

महाधिवेशन नजिकिएसँगै केन्द्रीय पदाधिकारी तथा सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। नेताहरूले भेटघाट र आन्तरिक परामर्शलाई पनि तीव्र बनाएका छन्।सभापतिमा थापा दोहोरिने सम्भावना बलियो देखिएको छ। विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेलेका थापालाई १५औँ महाधिवेशनबाट सभापति बनाउन युवा पुस्ताका नेताहरू सक्रिय देखिएका छन्।

ADVERTISEMENT

महामन्त्री गुरुराज घिमिरेका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। उनले उद्घाटनदेखि निर्वाचनसम्मका कार्यक्रमका लागि सम्बन्धित समितिहरू सक्रिय रहेको जानकारी दिँदै नेतृत्व चयनमा सहमति जुटाउने प्रयास भइरहेको बताए।

घिमिरे स्वयं पनि महामन्त्रीमै दोहोरिने तयारीमा छन्। उनले आफू महामन्त्री पदमै उम्मेदवारी दिने गरी छलफल गरिरहेको जानकारी दिएका छन्। युवा नेता तथा सांसद निश्कल राईले भने थापाको नेतृत्वमा कांग्रेस थप सशक्त भएर अघि बढ्ने दाबी गरेका छन्।

ADVERTISEMENT

महामन्त्री पदमा भने प्रतिस्पर्धा झन् फराकिलो बन्दै गएको छ। वर्तमान दुई महामन्त्रीसँगै सहमहामन्त्री उदयशमशेर राणा र बहादुरसिंह लामाले पनि महामन्त्रीमा आकाङ्क्षा देखाएका छन्। डडेलधुरा कांग्रेसले नैनसिंह महरलाई महामन्त्रीका लागि संस्थागत रूपमा अघि सार्ने निर्णय गरेको छ। यस्तै देवराज चालिसे, डा. सुनील शर्मा, अमरसिंह पुन र रञ्जित कर्णलगायत नेताहरूले पनि महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिभन्दा महामन्त्री पदमा देखिएको बहुकोणीय प्रतिस्पर्धा कांग्रेसभित्रको नेतृत्व चयनको मुख्य आकर्षण बनेको छ।