काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन शनिबार फिजी प्रस्थान गर्ने भएका छन्। मन्त्री खनालको सचिवालयका अनुसार उनी चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फिजी जान लागेका हुन्।
फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने उक्त कार्यक्रममा मन्त्री खनाल सहभागी हुनेछन्। परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालले अक्टोबर ६ मा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी)मा सम्बोधन गर्नेछन्।
उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउनेछन्।
जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नेछन्। उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने कार्यक्रममा समेत सहभागिता जनाउनेछन्। ती कार्यक्रममा उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।
मन्त्री खनाल अक्टोबर १२ मा नेपाल फर्कने कार्यक्रम रहेको छ।







