काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका ६ वटा व्यस्त चोकमा ट्राफिक लाइट जडानको काम तीव्र पारिएको छ। सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा भइरहेको आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ।
दसैँअघि नै ६ वटै चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। असोज २० गतेभित्र केही चोकमा बत्ती बाल्ने तयारी भए पनि लगातारको वर्षाका कारण हाइटेन्सन लाइनको विद्युतीय काम प्रभावित हुँदा केही ढिलाइ भएको आयोजनाले जनाएको छ।
आयोजनाका मुख्य प्राविधिक तथा साइट इन्जिनियर धीरज राउतका अनु सार ६२ देखि ६६ वटा पोलमध्ये आधाभन्दा बढीमा काम सकिएको छ। नारायणगढको मुख्य प्रवेशद्वार पुल्चोकमा भने छिट्टै बत्ती बालेर परीक्षण सञ्चालन गर्ने तयारी छ।
आयोजनाअन्तर्गत पुल्चोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, पारस बसपार्क र मालपोत चोकमा ट्राफिक लाइट जडान हुँदैछ। सवारीसाधनका लागि ६ मिटर आर्म भएका ७ मिटर अग्ला भेक्युलर पोल तथा पैदलयात्रीका लागि पेडेस्ट्रियन पोल राखिएका छन्।
ट्राफिक लाइट सञ्चालन भएपछि सीधा जाने, दायाँ तथा बायाँ मोडिने सवारीसाधन र पैदलयात्रीका लागि छुट्टाछुट्टै स्पष्ट सङ्केत उपलब्ध हुनेछ। बत्तीको सञ्चालन र अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रविधिमार्फत गरिनेछ। कुन चोकमा कति समयसम्म कुन बत्ती बल्ने भन्ने समयसमेत त्यहीँबाट नियन्त्रण गर्न सकिनेछ।
कुल १ करोड २३ लाख रुपैयाँमा एभरेस्ट टु सी–अमरज्योति जेभीले २०८२ साउन २० गते आयोजनाको ठेक्का पाएको थियो। सम्झौताअनुसार चैत २० गतेसम्म काम सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम नसकिएपछि नियमअनुसार गत वैशाखदेखि निर्माण कम्पनीलाई दैनिक ५ हजार रुपैयाँ जरिवाना तिराउँदै काम अघि बढाइएको सडक डिभिजन कार्यालयअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख इन्जिनियर राकेश महर्जनले जानकारी दिए।
निर्माण पक्षका इन्जिनियर राउतले काठमाडौँमा आन्दोलनका क्रममा क्षति भएका ट्राफिक लाइट तथा प्राविधिक संरचनाको मर्मत गर्नुपरेको, विभागबाट प्राविधिक लाइनअप पाउन समय लागेको र आवश्यक उपकरण बाटोमै रोकिएका कारण प्रारम्भिक चरणमा काम ढिलो भएको बताए।
मौसममा सुधार आएपछि बाँकी काम तीव्र पारेर दसैँअघि नै सबै चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याउने तयारी गरिएको छ।








