काठमाडौँ । काठमाडौंको बुद्धनगर–थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार शंखमूलबाट थापाथलीतर्फ जाँदै गरेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोजबड स्कुल नजिकको पुलको रेलिङमा ठोक्किएको थियो। त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०६२ प ९६३१ नम्बरको स्कुटर समेत मोटरसाइकलसँग ठोक्किएको थियो।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट कटहरिया नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय चन्द्रमान दास तत्माको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको राति १ः१० बजे मृत्यु भएको हो।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय दिपेन्द्र दास घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्कुटर चालक चितवन घर भई हाल काठमाडौं सतुंगल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठ र स्कुटरको पछाडि सवार सर्लाही घर भई हाल शंखमूल बस्ने २८ वर्षीय मोहन शाह पनि घाइते भएका छन्। दुवैको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा भएका ५९ प्रतिशतभन्दा बढी दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनबाट भएका थिए। उनका अनुसार तीव्र गति दुईपाङ्ग्रे दुर्घटनाको मुख्य कारणमध्ये एक हो।