काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि समानान्तर वडा अधिवेशन सुरु गर्दैछ। संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया अघि बढाएको हो।

देउवा पक्षले आफ्नो १५औँ महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका बनाएको छ। जसअनुसार आज वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तय गरेको छ।

ADVERTISEMENT

सो समूहका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकिएको छ। वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको छ।

ADVERTISEMENT

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले महाधिवेशन गर्न नहुने देउवा पक्षको धारणा थियो। संस्थापन पक्षले भने असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिकासहित समानान्तर प्रक्रिया थालेको हो।

देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने भन्दै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

ADVERTISEMENT

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।