काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।
प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की मंगलबार दिउँसो साढे ३ बजे सर्वोच्च अदालत पुगेका थिए। प्रधानन्यायाधीशको कार्यकक्षमा उनीहरूबीच करिब आधा घण्टा ‘वान टू वान’ छलफल भएको सर्वोच्चका एक उच्च अधिकारीले बताएका छन्।
ती अधिकारीका अनुसार छलफलमा प्रधानन्यायाधीश र आईजीपीबाहेक अन्य न्यायाधीश तथा कर्मचारी सहभागी थिएनन्। आईजीपी कार्की छलफलपछि सर्वोच्चबाट बाहिरिएका थिए।
छलफलको विषयबारे आईजीपीले पूर्वजानकारी नदिए पनि जबराको पक्राउसँग सम्बन्धित विषयमा कुराकानी भएको हुनसक्ने ती अधिकारीको अनुमान छ।
प्रहरीले शनिबार राति ‘शान्ति सुरक्षाको कारण’ देखाउँदै जबरालाई पक्राउ गरी आइतबार दिउँसो रिहा गरेको थियो। पक्राउको विषयलाई लिएर कानुनी प्रक्रिया र प्रहरीको कदममाथि प्रश्न उठिरहेका बेला प्रधानन्यायाधीश शर्माले सोमबार आकस्मिक फुलकोर्ट बैठक बोलाएका थिए।
फुलकोर्ट बैठकले जबरा पक्राउको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।








