काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन प्रहरीसँग माग गरेका छन्। जबराका छोरा सचिन्द्रशमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो।
निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ।
यस्तै, विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूले थप असुरक्षा महसुस गरेको जबराले निवेदनमा उल्लेख गरेका छन्।
पछिल्लो समय केही विषयमा प्रहरी कार्यालयबाट जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै उनले निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुग्नुपर्ने माग गरेका छन्।
आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारीमै रहेको उल्लेख गर्दै जबराले आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराले सुरक्षा माग गर्दै निवेदन दिएको पुष्टि गरेका छन्।
जबरालाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी आइतबार दिउँसो छुटेका थिए। उनलाई नियन्त्रणमा लिइएको विषयलाई लिएर पछिल्लो समय विभिन्न टिकाटिप्पणीसमेत भइरहेका छन्।








