काठमाडौँ। डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ माघ १५ गते (जनवरी २९, २०२७) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था मेघौली फिल्म्सले फिल्मको फष्टलुक्स पोस्टर मंगलबार सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा अभिनेता विजय बराललाई चलचित्रका पात्र ‘पुन्य चौलागाईँ’को फरक अवतारमा प्रस्तुत गरिएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि तथा पछाडि दुई वटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मक र कौतूहलपूर्ण बनाएको छ।
चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने परिस्थितिहरू वरिपरि केन्द्रित छ।
चलचित्रको कथा तथा पटकथा सजन काफ्ले र आकाश बरालले तयार पारेका हुन् भने उनीहरूले नै संयुक्त रूपमा निर्देशन गरेका छन् ।
चलचित्रमा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री, शारदा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ। मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रलाई निशाल पौडेलले छायाङ्कन गरेका हुन् । चलचित्रलाई काठमाडौँ उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसीएनले वितरण गर्नेछ।








