काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषय प्रतिनिधिसभामा प्रवेश गरेको छ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले जबराको पक्राउलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीशजस्तो व्यक्तिलाई मध्यरातमा पक्राउ गरेर सरकारले ‘राज्य आतंक’ र ‘बर्बर नमुना’ प्रस्तुत गरेको आरोप लगाए।

ADVERTISEMENT

महरले पूर्वप्रधानमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा ‘डाका शैलीमा’ पक्राउ गर्ने काम भइरहेको भन्दै ‘यो विधिको शासन हो कि निरंकुशता?’ भन्ने प्रश्न गरे। उनले जेन्जी पुस्ताको काँधमा टेकेर सरकारले आफ्ना गैरकानुनी गतिविधि ढाकछोप गर्न खोजेको दाबीसमेत गरे।

ADVERTISEMENT

नेकपाका प्रमुख सचेतक युवराज दुलालले बिना पक्राउ पुर्जी र बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छाड्ने कार्यशैलीमाथि प्रश्न उठाए। उनले सरकारलाई यस्तो ‘राजनीतिक स्टन्ट’ बन्द गर्न चेतावनी दिए।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबराको पक्राउ र रिहाइलाई ‘केटाकेटी खेल’ को संज्ञा दिए। राज्य संयन्त्रले कसैलाई पक्राउ गर्दा त्यसको आधार र गम्भीरता पुष्टि हुनुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पनि राज्य संयन्त्रको दुरुपयोग गरेर प्रतिशोधको राजनीति गरिएको आरोप लगाए। उनले बाढीपहिरोका कारण मुलुक प्रभावित भइरहेका बेला सरकार राहत तथा उद्धारमा केन्द्रित हुनुपर्नेमा विपक्षीलाई तर्साउने र संवैधानिक व्यक्तित्वलाई अपमानित गर्ने काममा लागेको दाबी गरे।

जबरालाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी आइतबार दिउँसो रिहा भएका थिए। घटनापछि उनको पक्राउको आधार र सुरक्षासम्बन्धी विषयलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेको छ।