काठमाडौँ । इरानले अमेरिकाले केही सर्त पूरा गरे एक साताभित्र स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरू) पुनः खोल्ने प्रस्ताव गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार अमेरिकाले आवश्यक सर्त पूरा गरेपछि होर्मुज जलडमरू खोल्ने प्रक्रिया सुरु हुनेछ।

ADVERTISEMENT

तर अराग्चीले ती सर्तको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। उनले यसअघि अमेरिका र इरानबीच भएको समझदारीमै आवश्यक सर्तहरू उल्लेख रहेको बताएका छन्।

ADVERTISEMENT

इरानले आफ्नो प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाएको जनाएको छ। यसअघि पनि इरानले अमेरिकासँगको कूटनीतिक संवाद पुनः सुरु गर्न मध्यस्थमार्फत प्रस्ताव पठाएको Reuters ले जनाएको छ।

इरानको प्रस्तावमा अमेरिकाले सैन्य दबाब कम गर्नुपर्ने तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने विषय रहेको वरिष्ठ इरानी अधिकारीले बताएका छन्।

ADVERTISEMENT

होर्मुज जलडमरू विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक हो। पछिल्लो समय अमेरिका–इरान तनावका कारण यहाँबाट हुने पानीजहाज आवागमनमा ठूलो कमी आएको छ। Reuters का अनुसार द्वन्द्व सुरु हुनुअघि दैनिक करिब १२५ ठूला व्यावसायिक पानीजहाज आवतजावत गर्ने यो मार्गमा पछिल्लो समय आवागमन निकै घटेको छ।

के हो होर्मुज जलडमरू?

होर्मुज जलडमरू फारसको खाडीलाई ओमानको खाडी तथा अरब सागरसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो। विश्वको तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको ठूलो हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा प्रत्यक्ष असर पार्न सक्छ।

इरानको पछिल्लो प्रस्ताव कार्यान्वयन भए होर्मुज हुँदै तेल तथा अन्य वस्तुको ढुवानी सहज हुन सक्ने अपेक्षा गरिएको छ। तर प्रस्तावमा रहेका सर्त, अमेरिका–इरानबीचको वार्ता र त्यसको कार्यान्वयनबारे अझै स्पष्टता आउन बाँकी छ।