काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नारायणी नदीको बाढी पस्दा १६५ घर प्रभावित भएका छन्।
सुस्ता गाउँपालिका–५ स्थित थारु टोलबाट शुक्रबारदेखि बस्तीमा पस्न थालेको बाढीले १६५ घरमा असर पुर्याएको हो। पानीको बहाव बढ्दै गएपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
सुस्तामै निर्माण गरिएको होल्डिङ सेन्टरमा शुक्रबार दिउँसो थारु टोलका ७८ परिवारलाई सारिएको थियो। त्यसपछि सैनिक टोल र बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।
नारायणीमा पानीको बहाव अझै बढिरहेको भन्दै जोखिममा रहेका परिवारलाई नदीको वारितर्फ सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए। कच्ची घरमा बाढी पसेपछि स्थानीय प्रभावित भएका छन्।
शनिबार बिहान ७ बजेको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ। स्थानीयका अनुसार नारायणीले धार परिवर्तन गरी सुस्तातर्फ सोझिँदा करिब १ लाख क्युसेक बहाव पुगेपछि बाढी बस्तीमा पस्ने गरेको छ।
नदीको सतह निरन्तर बढिरहेकाले सुस्ताका सबै बस्ती जोखिममा रहेको वडा सदस्य आदम खानले बताए। सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर क्षेत्र अझै निर्माण हुन बाँकी रहेकाले त्यही स्थानबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बाबु खानले बताए।
बाढीले बस्तीका साथै उखु खेतीमा समेत क्षति पुर्याएको स्थानीयको भनाइ छ। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा रहेका परिवारलाई उद्धार गर्नुपर्ने अवस्था आए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको जानकारी दिए।








