काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले रसुवामा गएको भीषण बाढीबाट क्षति बेहोरेका अटोमोबाइल व्यवसायीलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
असोज ७ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूसालसँग भेटवार्ता गर्दै बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल गरेको हो ।
छलफलमा अध्यक्ष उप्रेतीले गत भदौ १० गते रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको बाढीका कारण दसैँको सिजनका लागि चीनबाट आयात गरिएका सयौँ सवारीसाधनमध्ये धेरै वटा रसुवा नाकाबाट बगेको जानकारी गराएका थिए । उनले प्रभावित व्यवसायीलाई सरकारले उपलब्ध गराउने राहत तथा सहुलियतको व्यवस्था छिटो कार्यान्वयन गर्न आग्रह गरे ।
नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुलेका कारण ५०० भन्दा बढी सवारीसाधन सीमाक्षेत्रमै रोकिएको भन्दै त्यसको सहजीकरणका लागि आग्रह गरे ।
उनले ११ सिटे विद्युतीय माइक्रोबसको भन्सार छुटाउने कामसमेत रोकिएको जानकारी गराउँदै त्यसका लागि पहल गर्न महानिर्देशक भूसालसँग अनुरोध गरेका थिए ।
जवाफमा महानिर्देशक भूसालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले उपलब्ध गराउने सुविधा तथा सहुलियतको मोडालिटीबारे अर्थ, भौतिक पूर्वाधार तथा गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिए ।
भेटवार्तामा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेलको समेत उपस्थिति थियो ।







