नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन इलेक्ट्रिक सवारीसाधनको आधिकारिक विक्रेता सी.जी. मोटर्सले चितवनको भरतपुरमा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ।
भरतपुर बालमन्दिरमा स्थापना गरिएको उक्त आउटलेटको उद्घाटन चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। नयाँ आउटलेटबाट ग्राहकले एउटै स्थानमा चार अन्तर्राष्ट्रिय विद्युतीय सवारी ब्रान्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

सी.जी. मोटर्सले उपत्यकाबाहिर विद्युतीय सवारीको पहुँच विस्तार गर्ने उद्देश्यसहित भरतपुरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार यसले नेपालमा स्मार्ट, दिगो र प्रभावकारी यातायात प्रणाली विकास गर्ने अभियानलाई थप बल पुर्याउनेछ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले विद्युतीय सवारीको विस्तारमा सी.जी. मोटर्सले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले उपत्यकाबाहिर पनि विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो।
ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको आउटलेटमा सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
कार्यक्रममा भरतपुर महानगरपालिका–१० का वडा अध्यक्ष परमेश्वर खनालले भरतपुरमा विद्युतीय सवारीको नयाँ केन्द्र स्थापना भएकोमा खुसी व्यक्त गर्नुभयो। यस्तै, नबिल बैंकका प्रतिनिधि टोपप्रसाद अगस्तीले विद्युतीय सवारी खरिदका लागि सहज बैंकिङ कर्जा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सी.जी. मोटर्सका अनुसार कम्पनीले हाल देशभर २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क सञ्चालन गरिरहेको छ। कम्पनीका सहायक महाप्रबन्धक कञ्चन सिलवालले चार्जिङ पूर्वाधारले ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गर्न सहयोग गरिरहेको बताउनुभयो।
करिब १५० ग्राहकको सहभागिता रहेको कार्यक्रममा नयाँ सवारी खरिदकर्तालाई सवारीसाधनको साँचो हस्तान्तरण गरिएको थियो। यसअघि सी.जी. मोटर्सले गण्डकी प्रदेशको राजधानी पोखरामा पनि मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याइसकेको छ।






