– केपी ओली
आज सूचना र सञ्चार टेक्नोलोजी, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ । हामी आइटीबिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं । पहिलो कुरा, आइटीको प्रयोग केका लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोगलाई सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा पु¥याउने कुरामा सहयोगीको रूपमा आइटीलाई प्रयोग गर्न चाहन्छौं ।
आइटी सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ । आइटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ । टेक्नोलोजी भनेकै त्यही हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ । नवीनता त्यसका लागि आवश्यकता छ र नवीनता दिन्छ । यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्दछ । हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्दछ । यही कुरालाई ध्यानमा राखेर हामीले आइटीलाई डिजिटल नेपालको नाराका साथ अगाडि बढाएका छौं ।
सिंगै देशलाई डिजिटलाइज्ड गर्ने र त्यसको अधिकतम् सदुपयोग गर्ने । त्यसैअनुसार नै म अघिल्लोपल्ट प्रधानमन्त्री हुँदैदेखि डिजिटल नेपाल फ्रेमवर्क बनाएका थियौं । अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले फ्रेमवर्क टु जिरो अर्को चरणमा प्रवेश गरेका छौं र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदै छौं । म यस प्रविधिको प्रयोगलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा र अरु विभिन्न क्षेत्रहरूमा पनि यसको सदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा क्रियाशील रहेको छु । सरकार क्रियाशील रहेको छ र हामी हरेकले यस सन्दर्भमा प्रयास गर्नुपर्दछ ।
हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने, गत वर्ष नेपालको एसइइको परीक्षाको नतिजामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो र गत वर्षबाट हामीले सुरुदेखि नै यस प्रतिशतलाई वा ४८ भन्दा कम रहेको प्रतिशतलाई ७० प्रतिशत पु¥याउने भनेका थियौं । पछि हामीले केही संशोधन गर्नुप¥यो र हामीले ६० देखि ६५ प्रतिशतसम्म पु¥याउँछौ भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो । त्यसका निम्ति एउटा अभियान चलाउनुभयो ।
देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालय विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, त्यहाँका विद्यार्थीहरूलाई, त्यहाँका अभिभावकहरूलाई प्रेरित गर्नु हो । र, देशभरि दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकै ठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो र पछि हामीले ६० देखि ६५ प्रतिशतको बिचमा नतिजा निकाल्छौं भन्यौं । यो नितान्त निजी प्रयास हो हाम्रा युवाहरूको । त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो ।
हामी युवाहरूलाई जहाँ सेवा पु¥याउँछौं भनेको छ, त्यहाँँ इन्टरनेट सर्भिस उपलब्ध गराइदियो । त्यस हिसाबले प्रयास गर्दाखेरि ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तीर्ण भए । ४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसइइको नतिजामा उन्नति भयो । यो हामीले देखेका छौं, सानो खर्चबाट देशभरिको लाखौँ विद्यार्थीहरूको संख्यामा १४ प्रतिशतले उत्तीर्ण हुनेको संख्या अभिवृद्धि भयो, बढ्यो ।
तसर्थ, यसै गरेर हामीले अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता कुराहरू पनि विभिन्न हस्पिटलहरूबाट मद्दत गरेका छौं र साना हस्पिटलहरूले ठूला हस्पिटलहरूबाट विशेषज्ञ सेवाहरू लिन सकिरहेका छन् । त्यो हामी आफैँले प्रत्यक्ष यी केही वर्षहरूमा मात्रै अनुभव गरेका छौं । मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढंगले हामीले यस क्षेत्रमा पनि प्रगति गरेका छौँ ।
हामीसँग एउटा ‘डेमोग्राफिक डिभिडेन्ड’ राम्रो छ । त्यसलाई हामीले यस क्षेत्रमा प्रयोग गर्न सक्छौँ, किनभने हाम्रा युवाहरू आज आमरूपमा भन्ने हो भने डिजिटल फ्रेन्डली छन् अथवा डिजिटल क्षेत्रमा, आइटी सेक्टरमा भन्ने हो भने उनीहरू शिक्षित कमसेकम छन् । उनीहरूले विभिन्न ढंगले त्यसबाट नलेज लिन र नलेज सम्प्रेषण गर्न सक्छन् । त्यसकारण नवप्रवद्र्धनका कुराहरू, इनोभेसनका कुराहरू अथवा अरु रिसर्चका कुराहरूदेखि लिएर आइटीको प्रयोगले हामीलाई धेरै ठूलो मद्दत पुगिराखेको छ र हामी समाज परिवर्तनका लागि यी सबै कुरा, मान्छेको विकासका लागि सबै कुरा, अर्थतन्त्रको विकासका लागि, शिक्षा, स्वास्थ्य र सबै समाजिक क्षेत्रको विकासका लागि र समाजमा जनतालाई सेवा सुविधा पु¥याउनका लागि यी कुराहरूमा काम गरिराखेका छौँ ।
अहिले हामीले यो पर्सनल आइटीजस्ता कुराहरू यिनीहरूबाट जनतालाई सेवा पु¥याउने कुराहरू गरिराखेका छौँ र अनेक पक्षहरूमा यसको मद्दत पुगिराखेको छ । यो सँगसँगै, यसमा केही कमजोरी पक्षहरू, विकृतिका पक्षहरू र विज्ञान प्रविधिको प्रयोग ठीक ढंगले गर्न जानेनन् भने, मेसिन चलाउँदा ठीक ढंगले चलाइएन भने त हात काटिदिन्छ । त्यो त मेसिन भनेको ठीक ढंगले चलाउने कि नचलाउने भन्ने कुरासँग निर्भर हुने कुरा हो ।
अहिलेको दुनियाँमा इन्फर्मेसन टेक्नोलोजीको राम्ररी सदुपयोग मात्रै भएको छ भन्न सकिँदैन । खासगरी इन्फर्मेसनको सेक्टरमा, मिस इन्फर्मेसन, डिस इन्फर्मेसनजस्ता कुराहरू पनि यसबाट केही केही क्षतिका कुराहरू पनि भइराखेका छन् । समाजलाई अलि विकृति बढाउने खालका कुराहरू पनि भइराखेका छन् र यस्ता कुराहरूप्रति हामी सजग छौँ ।
सबै कुरा हुन पाउनु पर्दछ । वास्तवमा यो प्रेस स्वतन्त्र, इन्फर्मेशनको स्वतन्त्रता सबै कुरा हुनुपर्दछ तर अनियन्त्रित र समाजलाई हानि गर्ने गरी होइन, समाजलाई फाइदा पुग्ने गरी यी कुराहरू हुनुपर्दछ । समाजका लागि आईटी, विकासका लागि आइटी, राष्ट्रिय एकताका लागि आइटी, विश्व शान्तिको पक्षमा आइटी, सूचना मनोरञ्जनका लागि आइटी, शिक्षाका लागि आइटी, स्वास्थ्यको लागि आइटी । यसो भएर हामीले आइटीलाई सदुपयोग गर्न राम्ररी सक्नुपर्दछ ।
हाम्रो राष्ट्रिय आकांक्षा हामीले भनेका छौँ– समृद्ध नेपाल, सुखी नेपाली । त्यो हाम्रो राष्ट्रिय आकांक्षा हो । त्यो आकांक्षा परिपूर्ति गर्न, त्यसलाई प्राप्त गर्न, त्यसलाई गन्तव्य बनाएर हामी हिँडिरहेका छौं र त्यसको प्राप्तिका लागि सुशासन र विकास, तीव्रता, सुदृढता र तीव्रताका साथ अगाडि बढाउन जरुरी छ । त्यसमा आइटीको भरपूर मद्दत लिन जरुरी छ । यो अत्यन्तै उपयोगी छ ।
तसर्थ, हामी यसको सदुपयोग गर्दै देशका लागि, जनताका लागि, समाजका लागि र मानव जातिका लागि यसको सदुपयोग गर्ने, सुशासन र विकासका लागि सदुपयोग गर्ने काम गर्दै अगाडि बढ्ने यस दिशामा हामी लागि राखेका छौँ ।
यस सन्दर्भमा तपाईंहरुले आयोजना गर्नुभएको विश्व आइटी सम्मेलन २०२५, ले अवश्य नै ठूलो योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । यही विश्वासका साथ म तपाईंहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु । तपाईंहरू यस दिशामा अझ तीव्रताका साथ अगाडि बढ्न सक्नु होस्, अझ ठूलो योगदान गर्न सक्नु होस् र यसका निम्ति हामीले कानुुन बनाएका छौं ।
भर्खरै हामीले एआइ पोलिसी तय गरेका छौं । यी सबै कुराहरूको उपयोग गर्नुस् । हामीले भर्खरै कानुनी हिसाबले नै यहाँको आइटी उत्पादनलाई निर्यात गर्न सहजै सक्ने कुरा, यही बसेर लाभ गर्न सक्ने कुरा र बाहिर त्यसका निम्ति कम्पनी खोल्न सक्ने कुरा, विदेशमा कम्पनी खोल्न सक्ने कुरा आदि कुराहरूमा पनि कानुन निर्माण गरेरै अगाडि बढाएका छौँ । तसर्थ म यहाँहरु सबैमा यस कामलाई सदुपयोग गर्ने दिशामा सोचेर अगाडि बढ्न आग्रह गर्न चाहन्छु ।
(प्रधानमन्त्री केपी ओलीले १ भदौमा राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित विश्व आइटी सम्मेलनमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)






