काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वका बेला सार्वजनिक यातायातको भाडा नबढाउने बताएको छ ।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्दासम्म यातायात भाडा नबढ्ने स्पष्ट पारेका छन् । उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभए तोकिएकै भाडा कायम रहने बताए ।

ADVERTISEMENT

“पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएन भने तोकिएअनुसारको भाडा नै कायम रहन्छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ । नत्र तोकिएको ठाउँमा कुनै पनि हालतले भाडा बढी लिइँदैन, तोकिएको भाडामा टिकट पाउँछ,” उनले भने ।

ADVERTISEMENT

अध्यक्ष सिटौलाले आगामी एक महिनासम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि त्यसको भार उपभोक्तामाथि नपार्न सरकारलाई आग्रह गरेका छन् ।

यस्तै, अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको आरोपसमेत लगाए ।

ADVERTISEMENT

प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगिसकेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ । उनले तत्काल अनलाइन टिकटिङसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको पनि उनले बताए । दसैँ–तिहारको यात्रामा भाडा बढ्ने आशंका भइरहेका बेला महासंघको यो भनाइले यात्रुका लागि तोकिएको भाडादरमै टिकट पाउने अवस्था रहने संकेत गरेको छ ।