काठमाडौं । बैंकिङ क्षेत्रको कुल कर्जा विस्तार रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित कुल ५४ वटा संस्थाले प्रवाह गरेको कुल कर्जा रकम ५९ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।

यो कर्जा रकम असार मसान्तसम्मको तुलनामा शून्य दशमलव १३ प्रतिशत अर्थात् ७ अर्ब ४५ करोड रुपैयाँले कम हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५९ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सुरुवाती महिनामै कुल कर्जा घट्नुले बैंकिङ प्रणालीमा कर्जा विस्तारको गति अझै कमजोर रहेको देखिएको छ ।

ADVERTISEMENT

प्रतिवेदनअनुसार एक वर्षअघिको तुलनामा भने बैंकिङ क्षेत्रको कुल कर्जा रकम ८ दशमलव २१ प्रतिशतले बढेको हो । २०८२ साउनमा कुल कर्जा ५५ खर्ब ९१ अर्ब ६० करोड रुपैयाँ थियो ।

ADVERTISEMENT

कुन क्षेत्रमा कति कर्जा?

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जालाई क्षेत्रगत रूपमा हेर्दा विद्युत्, ग्यास तथा जलविद्युत् क्षेत्रमा बैंकिङ क्षेत्रको सबैभन्दा बढी कर्जा प्रवाह भएको छ ।

साउनमा यी क्षेत्रमा ४ अर्ब ९३ करोड रुपैयाँले कर्जा बढेर ५ खर्ब १८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ५ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ थियो । पछिल्लो एक वर्षमा भने यस क्षेत्रमा बैंकिङ क्षेत्रको कुल कर्जा १८ दशमलव ५१ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

निर्माण क्षेत्रमा पनि बैंकिङ क्षेत्रको कर्जा बढेर २ खर्ब ७९ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा २ दशमलव ०६ प्रतिशतले बढेको यो कर्जा एक वर्षको तुलनामा ११ दशमलव ३९ प्रतिशतले बढेको हो ।

कृषि, वन, पेय पदार्थ तथा गैरखाद्य उत्पादनसम्बन्धी क्षेत्रमा पनि बैंकिङ क्षेत्रको कुल कर्जा बढेको छ । चालु आर्थिक वर्षको साउन मसान्तसम्म बैंकहरूले यस्तो क्षेत्रमा प्रवाह गरेको कुल कर्जा ९ खर्ब ७७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो कर्जा असार मसान्तको तुलनामा शून्य दशमलव २६ प्रतिशत र पछिल्लो एक वर्षमा ८ दशमलव ३२ प्रतिशतले बढेको हो ।

थोक तथा खुद्रा व्यापार क्षेत्रमा पनि बैंकहरूको कर्जा रकम बढेर १० खर्ब २३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । साउनमा शून्य दशमलव ३० प्रतिशतले बढेको यस क्षेत्रको कर्जा वार्षिक आधारमा ३ दशमलव ३७ प्रतिशतले बढेको छ । कुल कर्जामा ठूलो हिस्सा ओगट्ने यो क्षेत्रको कर्जा विस्तार भने अन्य केही क्षेत्रको तुलनामा सुस्त देखिएको प्रतिवेदनमा उल्लेख छ ।

उपभोक्ता कर्जा भने एक महिनाको अवधिमा घटेको छ । असार मसान्तमा १३ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ रहेको उपभोक्ता कर्जा साउन मसान्तमा १३ खर्ब ४९ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । यसअनुसार एक महिनामा उपभोक्ता कर्जा शून्य दशमलव ६१ प्रतिशतले घटेको हो । तर, एक वर्षअघिको तुलनामा भने यस्तो कर्जा १३ दशमलव ६२ प्रतिशतले बढेको छ ।

वित्त, बीमा तथा रियल इस्टेट क्षेत्रमा पनि कर्जा संकुचित भएको छ । असार मसान्तमा ४ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ रहेको यस्तो क्षेत्रतर्फको कर्जा साउन मसान्तमा ४ खर्ब ३९ अर्ब १५ करोड रुपैयाँमा झरेको छ । एक महिनामै ५ दशमलव १२ प्रतिशतले घटेको यो कर्जा वार्षिक आधारमा भने ११ दशमलव २० प्रतिशतले बढेको छ ।

पर्यटन सेवा क्षेत्रमा कर्जा भने बढेको छ । साउन मसान्तसम्म यस्तो कर्जा २ खर्ब ८२ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । असार मसान्तको तुलनामा शून्य दशमलव ६२ प्रतिशत र एक वर्षअघिको तुलनामा ११ प्रतिशतले कर्जा बढेको हो ।

चालु आर्थिक वर्षको साउन मसान्तसम्म यातायात, सञ्चार तथा सार्वजनिक उपयोगिताका क्षेत्रमा बैंकहरूको कुल कर्जा ८७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । साउनमा २ दशमलव ०५ प्रतिशतले बढेको यो क्षेत्रमा एक वर्षको अवधिमा भने कर्जा ५ दशमलव ९१ प्रतिशतले घटेको छ ।

धातुजन्य उत्पादन, मेसिनरी तथा विद्युतीय उपकरण र एसेम्बली क्षेत्रमा कर्जा ७६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । असारको तुलनामा २ दशमलव ९५ प्रतिशतले बढेको यो क्षेत्रमा वार्षिक वृद्धि ३ दशमलव ९६ प्रतिशत रहेको छ ।

अन्य सेवा क्षेत्रतर्फ बैंकहरूको कुल कर्जा २ खर्ब ३६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । एक महिनामा ३ दशमलव २४ प्रतिशतले बढेको यो क्षेत्रको कर्जा वार्षिक आधारमा १० दशमलव २३ प्रतिशतले बढेको हो । स्थानीय सरकारतर्फको कर्जा पनि सामान्य बढेर ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कृषि तथा वनसम्बन्धी क्षेत्रमा कर्जा भने ३ खर्ब ४६ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । असार मसान्तको तुलनामा १ प्रतिशतले घटेको यो कर्जा एक वर्षमा २ दशमलव ७ प्रतिशतले घटेको हो ।

मत्स्यपालन क्षेत्रमा पनि कर्जा शून्य दशमलव ७४ प्रतिशतले घटेर १६ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ ।

खनिजसम्बन्धी क्षेत्रमा भने कर्जा बढेको छ । साउन मसान्तसम्म यस्तो कर्जा १२ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ, जुन असारको तुलनामा ३ दशमलव ६६ प्रतिशतले बढी हो । एक वर्षको तुलनामा भने यो क्षेत्रमा कर्जा १ दशमलव २० प्रतिशतले घटेको छ ।

यसैगरी, अन्य क्षेत्रमा बैंकहरूको कुल कर्जा रकम २ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँमा झरेको छ । असारको तुलनामा शून्य दशमलव ५२ प्रतिशतले घटेको यस क्षेत्रमा वार्षिक आधारमा भने कर्जा २ दशमलव २७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।