काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा तथा ठमेल XI को कार्यक्रम व्यवस्थापनमा ‘XTreme Energy Drink दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ आयोजना हुने भएको छ।
प्रतियोगितासम्बन्धी औपचारिक कार्यक्रम रोयल सुइट्स बुटिक होटलमा सम्पन्न भएको हो। कार्यक्रममा प्रतियोगिताको तयारी, उद्देश्य तथा पुरस्कारबारे जानकारी दिइएको थियो।
४५ वर्ष वा सोभन्दा माथिका खेलाडीहरू सहभागी हुने प्रतियोगिता सेप्टेम्बर २३ देखि २७ सम्म लैनचौर फुटबल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन सेप्टेम्बर २३ मा हुनेछ।
खेलकुदमार्फत सक्रिय जीवनशैली, आपसी मित्रता र सामुदायिक सहभागिता प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक XTreme Energy Drink रहेको छ भने समग्र कार्यक्रम व्यवस्थापन ठमेल XI ले गर्नेछ। आयोजकले खेलाडीको हौसला बढाउन खेलप्रेमी, स्थानीय बासिन्दा, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई मैदानमा उपस्थित हुन आग्रह गरेको छ।






