काठमाडौँ । भदौ लाग्दा पनि यो वर्ष मुलुकभर ८० हजार हेक्टर जमिन बाझै रहेको छ । देशभर १३ लाख ७६ हजार ४७७ हेक्टर क्षेत्रफल धान रोपाइ हुने जमिन रहेकोमा हाल सम्म १२ लाख ९५ हजार ८८७ हेक्टरमा धान रोपाइ भएको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
साउन सकिएर भदौ लाग्दा ८० हजार ५७९ हेक्टर भन्दा बढी जमिन बाझै रहदा यो वर्ष धानको उत्पादन घट्ने अनुुमान गरिएको छ । केन्द्रका अनुसार आइतबार सम्म मुलुकर ९४.१५ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सो अवधिमा ९८.४४ प्रतिशत धान रोपाइ भएको थियो ।
भदौ लाग्दा सवै भन्दा कम मधेश प्रदेशमा ८६.३५ प्रतिशत अर्थात तीन लाख १९ हजार ६२६ हेक्टरमा रोपाइ भएको छ । गत वर्ष सो अवधिमा मधेश प्रदेशमा ९७ प्रतिशत धान रोपाइ भएको थियो । यो वर्ष समयमा पानी नपर्दा सुुक्खा र खडेरीको कारणले गर्दा यस प्रदेशमा धान रोपाइ कम भएको हो ।
केन्द्रका अनुसार कोशी प्रदेशमा ९४.४२ प्रतिशत अर्थात दुुई लाख ६० हजार ९६४ हेक्टरमा रोपाइ भएको छ । बागमति प्रदेशमा ९७.२७ प्रतिशत अर्थात एक लाख १२ जार ४५९ हेक्टरमा रोपाइ भएको छ । यस्तै गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत ८३ हजार ३११ हेक्टरमा धान रोपाइ भएको छ ।
लुम्बिनी प्रदेशमा ९८ प्रतिशत अर्थात दुुई लाख ९७ हजार १०३ हेक्टरमा धान रोपाइ भएको छ । कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत ४० हजार हेक्टरमा धान रोपाइ भएको छ । सुुदुरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत अर्थात एक लाख ७५ हजार हेक्टरमा धान रोपाइ भएको छ ।






