काठमाडौँ। नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै ज्ञवालीले राजनीतिक संरक्षणका आधारमा सहकारी ठगीमा संलग्न व्यक्तिलाई जोगाउन नहुने बताएका हुन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोगाउन देशव्यापी आन्दोलन गरेको आरोपसमेत लगाए। ज्ञवालीले सहकारी ठगीमा संलग्न व्यक्तिलाई संरक्षण गर्न आन्दोलन गर्ने काम रास्वपाले गरेको दाबी गरे।
उनले एमालेसँग जोडिएका र सहकारी ठगीमा कारबाहीमा परेका व्यक्तिहरूको उदाहरण दिँदै पार्टीले गलत काम गर्ने व्यक्तिलाई कारबाही गरेको बताए। उनका अनुसार इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली तथा सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीमाथि कारबाही गरिएको थियो।
ज्ञवालीले राजनीतिक दलका नेतामाथि कानुनी कारबाही हुँदा त्यसलाई स्वीकार गर्दै अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए। तर, आफ्ना सभापति पक्राउ परेपछि रास्वपाले देशव्यापी आन्दोलन गरेर ‘उपद्रव’ गरेको उनको आरोप थियो।
सहकारीसम्बन्धी विभिन्न मुद्दामा रवि लामिछानेमाथि कानुनी प्रक्रिया भने अघि बढेको छ। पर्साको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको विवरण सार्वजनिक छ।
ज्ञवालीले सहकारी ठगीबाट सबैभन्दा बढी साना बचतकर्ता पीडित बनेको बताए। सहकारीबाट रकम लिएर जग्गा कारोबारमा लगाउने प्रवृत्तिले पनि सहकारी क्षेत्रमा समस्या बढाएको उनको भनाइ छ। उनले सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।






