काठमाडौं । सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपबाट रुँदै बाहिरिएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी ओलीलाई मत मागेका छन् । रातभरको कसरतपछि उनी पुनः ओली पक्षमा खुलेका हुन् ।

महासचिवमा उम्मेदवार बन्न नपाएकाले ओलीसँग चित्त दुःखाउँदै महाधिवेशनस्थल छाडेपछि ज्ञवालीलाई ईश्वर पोखरेल पक्षले आफ्नो समूहबाट उम्मेदवार बनाउन चाहेको थियो । तर सोमबार रातभर विभिन्न प्रलाेभन र दबाबपछि ज्ञवाली संस्थापन पक्षतिरै रोकिएका छन् । आगामी चुनावमा टिकट र खर्चको बन्दोबस्ती गरिदिने आश्वासन पााएपछि ज्ञवालीले मंगलबार सामाजिक सञ्जालमार्फत ओलीकै पक्षमा खुलेर मत मागेका छन्।

ADVERTISEMENT

ज्ञवालीले महासचिव नपाएपछि ओलीले अफर गरेको उपाध्यक्ष पदसमेत अस्वीकार गरे। र, आक्रोश पोख्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराए। सोमबार बन्दसत्र हलबाट निस्कँदा उनी निकै भावुक देखिएका थिए।

ADVERTISEMENT

ज्ञवालीले निकटस्थहरूसँग एउटै व्यक्तिलाई पटकपटक अवसर दिने र आफूजस्तो इमानदार नेतालाई पाखा लगाउने प्रवृत्तिप्रति गुनासो गरेका थिए। तर, ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा भावुक स्ट्याटस लेख्दै आफू ‘हमेशा कार्यकर्ताको बीचमा रहने’ बताएका छन्।

ज्ञवालीले लेखेका छन्, ‘एघारौं राष्ट्रिय महाधिवेशनका प्रिय प्रतिनिधि कमरेडहरू ! आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण । यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिंगो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु।’ उनले आफू केन्द्रीय कमिटीको सदस्य पदमा मात्र उम्मेदवार रहेको स्पष्ट पार्दै मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन्।

ADVERTISEMENT

ज्ञवालीको असन्तुष्टिलाई साम्य पार्न र उनलाई पुनः मूलधारको चुनावी अभियानमा सक्रिय गराउन ओलीका विश्वासपात्र मानिने नेता सूर्य थापा मंगलबार बिहानै ज्ञवाली निवास पुगेका थिए। एमालेमा आगामी निर्वाचनको सूची महासचिव शंकर पोखरेलले तयार पारिसकेको बताइन्छ । त्यही भएर पनि ज्ञवालीले रुष्ट बनेको नेताहरु बताउँछन् ।

ज्ञवालीसहित झन्डै एक दर्जन नेता संस्थापन पक्षबाट विरक्तिएका छन् । उनीहरूलाई पोखरेल समूहले आफ्नो टिममा राखेको छ । जसकारण ओलीको प्यानललाई धक्का लाग्ने अनुमान गरिएको छ ।