काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा उच्चपदस्थ अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएका छन्।

समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका पदाधिकारी तथा राजनीतिक दलका अध्यक्ष एवं सभापतिहरू सहभागी थिए।

ADVERTISEMENT

समारोहमा प्रधानमन्त्री शाहले विदेशी कूटनीतिक प्रतिनिधिहरूसँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गरेका थिए। राष्ट्रपति पौडेल, उपराष्ट्रपति यादव, प्रधानन्यायाधीश शर्मा तथा सभामुख अर्याललगायतसँग पनि उनले हात मिलाउँदै शुभकामना साटासाट गरेका थिए।

ADVERTISEMENT

विशेषगरी विदेशी कूटनीतिक प्रतिनिधिसँग प्रधानमन्त्री शाहले केहीबेर कुराकानीसमेत गरेका थिए। समारोहमा सहभागीहरूबीच औपचारिक भेटघाट, शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा संक्षिप्त कुराकानी भएको थियो।

यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोह काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको थियो। उक्त समारोहमा पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएका थिए।