काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता कायम गर्दै हातेमालो र एकजुट भएर विकास तथा समृद्धितर्फ अघि बढ्नुपर्ने बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै रेग्मीले समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु आवश्यक रहेको बताए। लामो संघर्ष र विभिन्न जनआन्दोलनको उपलब्धिस्वरूप २०७२ सालमा संविधानसभाबाट नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको उनले स्मरण गरे।
नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै रेग्मीले भूकम्प, बाढीपहिरो र जलवायु परिवर्तनका असर सामना गर्न राष्ट्रिय रूपमा एकजुट हुनुपर्ने बताए।
हालैको भोटेकोशी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले हजारौँ मानिस बेपत्ता भएको घटनाले सबैलाई मर्माहत बनाएको बताए। रसुवाको बाढी अत्यधिक वर्षाका कारण नभई हिमपहिरोका कारण भएको र यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिनुपर्ने उनको भनाइ छ।
रेग्मीले जलवायु परिवर्तनका कारण हुने विपद्सँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्याय तथा क्षतिपूर्ति आवश्यक रहेको बताए। यसका लागि संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले दीर्घकालीन रूपमा यस्ता विपद् सामना गर्ने नेपालको आफ्नै क्षमता पनि बढाउँदै लैजानुपर्ने बताए।






