काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङमा फसेका ८ जनामध्ये ४ जनाको शव फेला परेको छ। बुधबार गोताखोर टोलीले सुरुङभित्रबाट ३ जनाको शव र एउटा मानव अंग फेला पारेको हो।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङभित्रबाट लगातार पानी आइरहे पनि गोताखोर टोली १३० मिटरभित्र प्रवेश गरी शव तथा मानव अंग बाहिर निकाल्न सफल भएको हो।

ADVERTISEMENT

चीनको ल्हेन्दे खोलाबाट आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार विभिन्न आयोजनाका सुरुङमा मानिसहरू फसेका थिए।

ADVERTISEMENT

नेपाली सेनाको नेतृत्वमा हाल ६ वटा आयोजनामा खोज तथा उद्धार भइरहेको छ। हालसम्म विभिन्न जलविद्युत् आयोजनाका सुरुङबाट ९ वटा शव निकालिएको जनाइएको छ।

यसअघि रसुवा भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङबाट २ जनाको शव फेला परेको थियो। त्यस्तै लाङटाङ खोला जलविद्युत् आयोजनाबाट २ जना र त्रिशूली–३ ए आयोजनाबाट १ जनाको शव भेटिएको थियो।

उद्धार टोलीले हालसम्म विभिन्न आयोजनाका सुरुङबाट ३ जनालाई जीवितै उद्धार गरेको छ। भदौ १९ गते त्रिशूली–३ ए आयोजनाबाट सञ्जय साह र कबिर महर्जन तथा भदौ २० गते माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट चिनियाँ नागरिक लुआइतोलाई उद्धार गरिएको थियो।

चिलिमे जलविद्युत् आयोजनामा उद्धारकर्मीले पावरहाउस क्षेत्रमा खोजी तीव्र पारेका छन्। २२ मेगावाट क्षमताको आयोजनामा उद्धारका लागि नेपाली सेनाले स्याफ्रुबेँसीदेखि चिलिमेको सुरुङसम्म हेभी उपकरण लैजान बाटोसमेत बनाएको छ।